भानुभक्तको नारीसम्बन्धी दृष्टिकोण ||

शर्वराज आचार्य 

आदिकवि भानुभक्त आचार्यको नारीसम्बन्धी दृष्टिकोण खुबै आलोचित छ । कतिपय नारी र पुरुष लेखकले भानुभक्तको नारीसम्बन्धी दृष्टिकोणमाथि नकारात्मक धारणा राखेका छन् । यो धारणा बनाउने सामग्री उनकै रचनामा पाइन्छन् । प्रश्नोत्तरमाला र वधूशिक्षा जस्ता रचनाभित्र उनका नारीसम्बन्धी दृष्टि देखिन्छन् ।  

भानुभक्तको साहित्यिक यात्रामा नारीसम्बन्धी पहिलो दृष्टिकोण प्रश्नोत्तरमालाभित्र देखिन्छ भने नारीसम्बन्धी अन्तिम दृष्टिकोण वि.संं.१९१९ तिर रचना गरिएको वधूशिक्षामा रहेको छ । प्रश्नोत्तरमालाबाट विकसित भएको यो दृष्टिकोण वधूशिक्षामा परिपक्व बनेको छ । प्रश्नोत्तरमालामा दार्शनिक र वधूशिक्षामा व्यावहारिक दृष्टिकोण छन् ।

त्यसमध्ये वधूशिक्षालाई हेरेर भानुभक्तको नारीदृष्टि बुझ्ने कोसिस गरिन्छ । खुला र स्वतन्त्र समाजका मान्यताबाट बन्द र अस्वतन्त्र समाजका भानुभक्तलाई बुझ्न कोसिस गर्दा उनी आलोचित बनेका छन् । हिन्दूशास्त्र र लोक प्रचलनका नैतिक आदर्श ठान्ने भानुभक्तमाथि आधुनिक र प्रगतिशील आँखाले हेर्दा नकारात्मक आलोचना हुन सक्छ । उनकै युगीन मान्यताका कसीमा भने भानुभक्त नकारात्मक आलोचनाभन्दा माथि उठेका छन् । 

प्रश्नोत्तरमालामा पाइने भानुभक्तको नारीसम्बन्धी दृष्टिकोणमा दार्शनिकता छ । यसमा पूर्वीय दर्शनको अनुसरण गरेर नारीलाई हेर्ने प्रयास छ । आद्य शङ्कराचार्य वेदान्त दर्शनका विद्वान् र साधक हुन् । उनको मणिरत्नमालाको नेपाली रूपान्तरण भानुभक्तको प्रश्नोत्तरमाला हो । यसमा एउटा पूर्वीय दार्शनिक र साधकले चिन्तन गर्ने नारीसम्बन्धी दृष्टिकोण आएका छन् । भानुभक्त भने दार्शनिक र साधक होइनन् । दार्शनिक र साधकका विचारलाई नेपाली समाजमा पुर्याउने कवि हुन् ।

प्रश्नोत्तरमालामा नारीलाई नरक प्रवेश गराउने सुन्दर मूलद्वार, सुराजस्तै मोहित गराउने वस्तु, सबैलाई बाँध्ने साङ्ला, संसारमा बुभ्mनै नसकिने चरित्र, सुखी हुन त्याग गर्नुपर्ने वस्तु र अगाडि अमृत पछाडि विष हुन् भनिएको छ । सन्यासी शङ्कराचार्यले जुन दृष्टिकोणबाट नारीलाई हेरे गृहस्थी भानुभक्त आचार्यले पनि त्यही दृष्टिकोणबाट नारीलाई हेरेका होइनन् । यो त एउटा सन्यासीको दृष्टिकोण हो, गृहस्थीको होइन ।

कविले त बालाजुमा सुन्दरी नचाउन खोज्ने, पत्नीलाई बिन्ती एक म गर्दछु भन्दै चिठी पठाउने, कान्तिपुरमा गुनकेसरीको फूल लगाएका चपला अबलाहरु र अप्सरा मात गर्छे भन्दै हरिप्रसादसँग ठँहिटीको झ्यालमा बसेकी केटी हेर्ने काम गरेका छन् । सन्यासीको नारी दृष्टिकोणसँग कवि भानुभक्त आचार्यको दृष्टिकोणले मेल खाँदैन । किनभने नारीका बारेमा लेखिएका फुटकर कवितामा उनी सौन्दर्यवादी र भोगवादी देखिएका छन्, नारी आकर्षणसँग लठ्ठिएका छन् । 

भानुभक्तको जीवन यात्रा र प्रश्नोत्तरमालामा व्यक्त नारीसम्बन्धी दृष्टिकोणमा विरोधाभास छ । दार्शनिक र व्यवहारिकरूपमा नारीलाई हेर्ने भानुभक्त आचार्यका अलगअलग दृष्टिकोण छन् । भानुभक्तको मनले सन्यासी भाव उद्बोध हुँदा नारीलाई नरक जाने मूलढोका देख्छ भने व्यावहारिक भाव उद्बोध हुँदा अप्सरा माथ गर्छे भन्दै ठँहिटीको झ्याल हेर्न पुग्छ ।

उनको जीवन शैलीलाई दर्शनले भन्दा व्यवहारले निर्देशन गरेको छ । उनी हिन्दी भाषाका आदिकवि तुलसीदास र नेपाली गुणदास जस्ता गृहत्यागी र भक्त कवि पनि देखिँदैनन् । उनले बाजे श्रीकृष्ण आचार्यले वृद्धावस्थामा नित्य पाठ गर्ने संस्कृत भाषाको मणिरत्नमालालाई नेपाली भाषामा प्रश्नोत्तरमाला लेखे । एउटी सन्यासिनी र गृहत्यागी नारीका निम्ति पुरुष पनि नरकको मूलढोका हो । सन्यासको भाव उद्बोध हुँदा भानुभक्तले नारीलाई जे देखे एउटी सन्न्यासिनी नारीले पनि पुरुषलाई त्यही देख्छे । त्यस कारण सन्यासमा पुरुषले नारी र नारीले पुरुषलाई हेर्ने दृष्टिकोण एउटै हो ।

भानुभक्तको नारीसम्बन्धी व्यावहारिक दृष्टिकोण वधूशिक्षाले व्यक्त गरेको छ । यहाँ वधूलाई सामान्यीकरण गरिएको होइन । तनहुँतिर ब्रह्मण र क्षत्री जस्ता जातका पौडेल, खनाल र आचार्य कुलको परम्परित मान्यताबाट नारीलाई हेर्ने दृष्टिकोण व्यक्त भएको हो । यो सबै जातका नेपाली वधूलाई दिएको शिक्षा होइन । वधूशिक्षामा पढ्दा, पिता धनञ्जयलाई सहयोग गर्दा, मुद्दा मामिला गर्दा, काठमाडौँ र वनारसमा जाँदा, जागिर खाँदा र कुमारीचोकमा थुनिँदासमेत घरगृहस्थी धानेर बस्ने पत्नी चन्द्रकलालाई कविले आदर्श नारी बनाएका छन् ।

वधूशिक्षाभित्र उनको अवचेतन मनमा बसेर चन्द्रकलाको चरित्र बोलिरहेको छ । पत्नी र आमाबीचको सासू बुहारीको आदर्श सम्बन्ध वधूशिक्षामा भेटिन्छ । त्यसैले नारीसम्बन्धी दृष्टिकोण बनाउँदा भानुभक्तले आफ्नै वंश र खनाल कुलको परम्परा सम्झेका छन् । उनी आफ्नो घरभन्दा आधा घन्टा जति तल भुत्याहा खेतमा घरजम गरी बस्ने तारापति पौडेलकी वधूलाई आफ्नै कुलका वधूजस्तो बनाउन चाहन्छन् । तसर्थ आआफ्नै जातीय कुल परम्पराले आबद्ध ३६ जातका फूल फुलेको तत्कालीन नेपाली समाजका नारीलाई अहिलेको जातीय सामान्यीकरणका आँखाले हेर्न सकिँदैन । 

भानुभक्त सम्भ्रान्त र सामन्ती होइनन् । जागिर खानुपर्ने र कुटो कोदालो हातमा लिनुपर्ने व्यक्ति हुन् ।  उनका पुर्खाले यायावरीय जीवन बिताएका छन् । उनी थोरै बिर्ता पाएपछि जीविकोपार्जनको निम्ति पुग्ने जग्गा जमिन भएका पुर्खाका सन्तान बनेका हुन् । त्यसैले उनमा सम्भ्रान्त वर्गीय नारी चिन्तन छैन । उनको नारी चिन्तनमा वि.संं.१९१० तिर जङ्गबहादुर राणाले लागु गरेको मुलुकी ऐनको प्रभाव छ । उनी उजिरसिंह थापाले पाल्पामा वि.संं.१८७९ मा र राजा राजेन्द्रले वि.सं.१८८३ मा जारी गरेको बन्देजसँग पनि परिचित हुनुपर्छ । सामन्ती युग भएकाले चिन्तन सामग्रीमा सामन्तवादी नारी दृष्टिकोण देखिन सक्छ । तत्कालीन बन्देज र मुलुकी ऐनले निर्माण गरेको मनोगत संरचनाको माटोमा भानुभक्त आचार्यको नारीलाई हेर्ने कवित्व वीज उम्रिएको छ । 

उनले सामाजिक प्रचलन, कुलाचार र  हिन्दू विधिशास्त्रबाट नारीसम्बन्धी थप दृष्टिकोण बनाएका छन् । यसबाहेक वनारस, पाल्पा र तनहुँतिर भोगेका र देखेका आदर्श नारी आचरणबाट भानुभक्तमा नारीलाई हेर्ने दृष्टिकोण बनेको छ । भानुभक्तले हिन्दूविधि, भारत र नेपालको समाजमा नारीको पर्यवेक्षण गरे । उनी पर्यवेक्षणको विपरीत उभिन सकेनन् । यो पर्यवेक्षणबाट निर्मित नारी आदर्शको वर्णन वधूशिक्षा हो । भानुभक्त वर्तमान उन्मुक्त समाजमा जन्मेका भए उनको पर्यवेक्षणमा आजकै वधू उभिएकी हुन्थिन् । आज पुत्रशिक्षा, पुत्रीशिक्षा र वधूशिक्षाबीच फरक छैन । हाम्रो सामाजिक संरचना नै बदलिएको छ । बदलिएको सामाजिक संरचनाभित्र बसेर पुरानो भानुभक्तीय समाजका नारीलाई सामान्यीकरण गरेर हेर्दा उनको दृष्टिकोण आलोचित हुन सक्छ ।  

वधूशिक्षामा पति ईश्वर हुन्, ठूलो व्रत पतिसेवा हो, पतिका चरणको पानी खानुपर्छ, मिलेर सती जानुपर्ने भएकाले सौता रिस नगर्नू र हाँस्ने नारी वेश्या हुन्छन् आदि भनिएको छ ।

यी भनाइमाथि आलोचकका नकारात्मक अभिव्यक्ति पाइन्छन् । यसबाहेक वधूशिक्षाका अन्य भनाइ परम्परित गृहस्थीकर्म हुन् । वर्तमान स्वतन्त्र, नारीवादी, प्रगतिशील र नारी सशक्तीकृत नेपाली समाजमा पतिलाई ईश्वर ठान्नु, गोडाको पानी खानु, मर्दा सती जानु र वेश्या नारीले हाँस्छन् भन्नु भानुभक्तको अर्घेल्याइँ ठानिन सक्छ । जङ्गबहादुरको मुलुकी ऐन र तत्कालीन नेपाली समाजको नारी चिन्तनबाट वधूशिक्षाका भानुभक्तको नारीसम्बन्धी दृष्टिकोणको मूल्याङ्कन गर्दा भानुभक्तको नारी दृष्टिकोणमा अर्घेल्याइँ नहोला ।

किनभने सती जानुलाई तत्कालीन मुलुकी ऐनले पनि ऐच्छिक बनाएको छ । हिन्दूविधिमा पतिलाई ईश्वरको रूपमा उभ्याएको छ, यसैको आडमा वधूशिक्षाले पतिलाई परमेश्वर बनाएको छ । अर्कातर्फ भारतमा गुप्तकालदेखि चलेको सती प्रथा नेपालमा लिच्छिवि कालदेखि प्रचलित देखिन्छ । सर्वप्रथम वि.संं.१८८६ तिर भारतको कलकत्तामा सतीप्रथा प्रतिबन्धित भयो । यसभन्दा अगाडि पुर्तगालीहरुले पनि सन् १५१५ मा गोआ टापुमा प्रतिबन्ध लगाएका थिए । फ्रान्सेली र डचहरुबाट उपनिवेशित भारतेली भूभागमा  सती प्रथा प्रतिबन्धित थियो ।

तर, आदिकवि भानुभक्त आचार्यमा यसको प्रभाव देखिँदैन । भानुभक्त कान्तिपुरको वर्णन गर्दा विदेशी सहरको ज्ञाता देखिन्छन् तर वनारसमा पढ्ने र कलकत्ताको नजिक बस्ने भानुभक्त मिलेर सती जानुपर्ने भएकाले सौता रिस नगर्नू भन्दै प्रतिबन्धित सती प्रथाप्रति अनभिज्ञता देखाउँछन् । 

नारीमाथि पुरुषको व्यक्तिगत अधिकार बढ्दै गएपछि समाजमा सतीप्रथा र नारीले हाँस्दा वेश्या हुन सक्ने सोच आयो । समाजको विकास मध्यकालीन युगमा पुग्दा परपुरुषको मुख हेर्नै नहुने पर्दा प्रथा देखिए । कतिपय प्रथाले धर्मको आवरण पाएका छन् । आदिकवि भानुभक्त प्रचलित धार्मिक आवरणलाई च्यात्न सक्दैनन् । त्यस आवरणलाई सभ्यता ठान्ने युगका प्रवक्ता हुन् भानुभक्त ।

वि.सं.२००७ पूर्व नेपाली समाज त्यही आवरणभित्र जकडिएको थियो । त्यस कारण भानुभक्तको नारीसम्बन्धी दृष्टिकोणमाथि नकारात्मक आलोचना सान्दर्भिक देखिँदैन । भानुभक्तले तत्कालीन नेपाली समाजिक मान्यता र जनजनमा भिजेको रामचरित्रका सामग्रीबाट नेपाली भाषाको विकासमा योगदान दिए । सामग्री सार्वकालिक र शाश्वत् नहुन सक्छन् तर कलात्मक सौन्दर्य शाश्वत् हुन्छ । कलात्मक नेपाली भाषिक स्वरूप भानुभक्तको उच्चतम प्राप्ति हो । वधूशिक्षालाई त्यही प्राप्तिका रूपमा लिनुपर्छ ।

चिकित्सा क्षेत्रमा मडारिएको राजनीति र दबिएका स्वरहरु ||

डा. पुष्पमणि खराल एउटा प्रख्यात भनाइ छ — चिकित्साशास्त्रमा अनिश्चितता मात्र निश्चित हुन्छ । भनाइको तात्पर्य चिकित्सा विज्ञानमा धेरै यस्ता पक्ष

सुधार होला नेपाल– भारत सम्बन्ध ?

ऋषिराम अधिकारी र्खा रेजिमेन्टमा ४०,००० भन्दा धेरै नेपाली भारतको रक्षाको निम्ति तैनाथ छन् तर दुई छिमेकी मुलुकबीच हुनुपर्ने हार्दिकतापूर्ण