ad

चिकित्सा क्षेत्रमा मडारिएको राजनीति र दबिएका स्वरहरु ||

डा. पुष्पमणि खराल

एउटा प्रख्यात भनाइ छ — चिकित्साशास्त्रमा अनिश्चितता मात्र निश्चित हुन्छ । भनाइको तात्पर्य चिकित्सा विज्ञानमा धेरै यस्ता पक्ष छन् जसमा चिकित्सकले ठ्याक्कै यही हुन्छ भन्न सक्तैनन् । चिकित्सकले रोगग्रस्त बिरामीलाई उन्मुक्त गराउन सहयोगमात्र गर्छ ।  रोग निको हुन चिकित्सकले सिफारिस गरेको औषधि र बिरामीको आफ्नो रोगसँग लड्ने क्षमता दुवै उत्तिकै महत्त्वपूर्ण हुन्छन् । कहिलेकाहीँ एउटै रोग भएका फरक बिरामीलाई एउटै औषधिले निको पार्दैन । चिकित्सा विज्ञानमा यस्तै अनिश्चितताका बारेमा थप जानकारी पाउन अनेकौं अनुसन्धान भइरहेका हुन्छन् । एक वर्ष अगाडि सोचिएको कुरा आहिलेको अनुसन्धानले गलत पनि साबित गरेको पाइन्छ । यस्तै अनिश्चितताले गर्दा चिकित्सकले गरेकोे उपचार शतप्रतिशत सफल नहुन पनि सक्छ । चिकित्सकले उपचारमा बढीभन्दा बढी सफलता हात पार्न प्रयास गरेका हुन्छन् । किनभने सफलताले नै उसलाई स्थापित गर्ने हो । संसारमा जानीजानी आफ्नो उपचार विफल पार्ने डाक्टर बिरलै होलान् । केही मानवीय त्रुटि हुन सक्छन्, त्यो बेग्लै पक्ष हो । 

उपचारको क्रममा केही घटना यस्ता हुनपुग्छन् जसले चिकित्सक र मेडियालाई आमनेसामने बनाउँछ । सतही अध्ययन गरेर मिडियामा घटनाको दुश्प्रचार हुँदा एकातिर चिकित्सा पेसामा नकरात्मक असर पर्छ भने अर्कोतर्फ सेवाग्रहीलाई चिकित्सक र अस्पतालप्रति थप आक्रोशित बनाउँछ । पछिल्लोपटक मनमोहन अस्पतालको घटनाले फेरि चिकित्सक वर्गलाई सशंकित बनाएको छ । चिकित्सा विज्ञानको सर्वमान्य धारणा यस्तो हुन्छ : — “बिरामीलाई नोक्सान नपुर्याऊ” वा “बिरामीको हितमा काम गर ” । मनमोहन अस्पतालको विज्ञप्तिअनु्सार असाधारण ठाउँमा रहेको मिर्गौलाको पत्थरी निकाल्ने क्रममा अत्यधिक र अस्वाभाविक रक्तस्राव रोक्न सकिएन र बिरामीको जिन्दगी बचाउन बिरामीको आफन्तको सल्लाहमा मिर्गौला निकालियो र बिरामी बचाइयो । हो १ दुर्भाग्यवशः बिरामीको एउटा मिर्गौला जोगाउन सकिएन । बिरामीलाई बचाउन पर्ने आकस्मिक अवस्थामा चिकित्सकले बिरामीको आफन्तलाई सोध्दा बिरामीका आफन्तले मन्जुरी दिएनन् भने पनि चिकित्सकलाई आवश्यक उपचारको पूर्ण अधिकार हुन्छ । 

 यो विषय मिडियामा मात्र नभएर अहिले संसद्मा पनि बहसको विषय बनेको छ । जो, जो सांसदहरूले जसरी यस विषयमा बोलेका छन् यसबाट प्रष्ट हुन्छ घटनालाई अतिरञ्जित रूपमा राजनीतिकरण गरिँदैछ । सांसद्जस्ता जिम्मेवार व्यक्तिले मिडियामा आएको एकपक्षीय कुरालाई मात्र आधार बनाएर राजनीतिक तापक्रम तताउन खोज्नु कति जायज हो ? एकछिनलाई मानौ, अप्रेसनको क्रममा केही मानवीय त्रुटि भएका होलान् रे । त्यसको छानबिन गर्न नेपाल मेडिकल काउन्सिल र अदालत छन् । भनिन्छ, छिमेकीको घरमा पालेको कुकुर भुक्यो भनेर कुकुर किन भुक्यो होला भनेर बुझ्ने कि कुकर धनीलाई डेडो आँखाले हेर्ने ?

संसद्मा चिकित्सकहरू पनि सांसद छन् । उनीहरू अहिले विशुध्द राजनितीकर्मी मात्र होलान् तर के चिकित्सा पेसा छोड्दैमा डाक्टरी ज्ञान र विवेक मर्छ ? किन उनीहरू संसद्मा मौन बसे ? के हामीले यो विषय अब राजनीतिकरण भइसक्यो भन्ने बुझौँ ?

नेपालका अधिकांश अस्पतालहरू (केन्द्रीय र क्षेत्रीय स्तरका ४–५ छोडेर) को आधारभूत मापदण्ड पुगेको छैन । कतै भौतिक पूर्वधार कमजोर छ भने कतै जनशक्ति र उपकरणको अभाव छ । जिल्लाका केही ठाउमा त ‘वन मेन आर्मी’ भएर एउटै चिकित्सकले बिनाउपकरण काम गर्नुपर्ने बाध्यता छ । अप्रेसन हुने ठाँउमा ब्लड ब्याङ्कको सुविधा छैन । बिरामीलाई बचाउन स्वयं डाक्टरहरूले आफ्नो रगत दिएका हुन्छन् । एम्बुलेन्सको राम्रो सुविधा छैन । बाटाको हालतले गर्दा बिरामीलाई उपचार गराउने ठाँउसम्म पुर्याउँन घन्टाैं लाग्छ । उपाचारमा ढिलो हुँदा धेरैले अकालमा ज्यान गुमाएका छन् । यस्तो विषयमा सांसद्हरूको बोेली किन सुनिदैन ? कि राजनीतिको फोहोरले स्वर थिचिएको हो ? 

मेडिकल शिक्षामा पनि अनेकौं समस्या छन् । नेपाल सरकारको नयाँ मान्यताअनुसार डाक्टरहरूले एमडी÷एमएस गर्दा प्रवेश परीक्षा नतिजाको मेरिटअनुसार भर्ना पाउनुपर्छ । तर, खुलेखाम केही मेडिकल कलेजले योग्यतालाई लत्याँउदै चर्काे शुुल्क उठाएर मेरिट लिस्टभन्दा बाहिर रहेकालाई भर्ना लिने गरेका छन् । यस्को विरोधमा संसद्मा स्वरहरू किन गुन्जदैन माननीयहरू ?

चिकित्सकहरू कार्यक्षेत्रमा हुँदा केही सेवाग्राहीबाट अनुचित दबाबमा परेका हुन्छन् । जिल्लामा काम गर्ने चिकित्सक होस् या विकट गाउँमा काम गर्ने होस् राजनीतिक दबाबमा काम गर्नुपर्ने  
अवस्था छ । राजनीतिकर्मीलाई चित्त नबुझे डाक्टरले अनुचित सरुवा भोगेका उदाहरण छरपस्टै छन् । 

केही हाम्रा पनि कमजोरी छन् । कहिलेकाहीँ हामी बिरामीका भनाइलाई बेवास्ता गर्छाैं । वास्तवमा रोगको पहिचान गर्न जति ल्याब रिपोर्टको महत्त्व हुन्छ त्यसभन्दा बढी महत्त्व बिरामीले आफ्नो समस्याका बारेमा सुनाउने कुराको हुन्छ । हो, कहिलेकाहीँ हामी चिप्लिन्छौं । सुन्ने कानलाई बढी प्रयोग गर्नको सट्टा बोल्ने मुखलाई महत्व दिन्छौंँ । चिकित्सक पनि सुध्रन जरुरी छ ।

चिकित्सक र बिरामीबिचको सम्बन्धको एउटा महत्वपूर्ण पाटो त छँदैछ तर चिकित्सकहरूबीचको आपसी सम्बन्धले पनि ठूलो अर्थ राख्छ । आजकाल कस्तो पनि देखिन थालेको छ भने एक डाक्टरले अर्काे डाक्टरको उपचार पद्धतिलार्ई बिनाठोस आधार चुनौती दिएको हुन्छ । बिरामीको हितलाई केन्द्र बिन्दुमा राखेर गरिएको चुनौती स्वीकार्य हुन्छन् तर बिरामीलाई भ्रममा पार्ने उद्देश्यले गरिएका कार्यको विरोध गर्नुपर्छ । भाग्यवश, चिकित्सकबीचको आपसी सम्बन्ध पछिल्लो समयमा सुध्रिन लागेको आभास पाइन्छ ।

चिकित्साशिक्षा दिन प्रतिदिन महँगो हुँदैगएको छ । पढाइमा अब्बल भए पनि निम्न तथा मध्यम वर्गका विद्यार्थीले प्रवेश परीक्षामा नाम निकाले पनि छात्रवृत्तिबाहेकका कोटामा आर्थिक अभावका कारण डाक्टरी पढ्न सकेका छैनन् । सरकारले स्वास्थ्यलाई जनताको मौलिक अधिकार भनेको छ । चिकित्साशिक्षा महँगो भएपछि स्वास्थ्य सेवा स्वतः महँगो बन्छ । स्वास्थ्य क्षेत्रलाई सर्वसुलभ बनाउन चिकित्साशिक्षा सके निःशुल्क हुनुपर्छ नसके सस्तो हुनुपर्छ । दुर्भाग्यवश, चिकित्सा शिक्षा वर्षेनी थप महँगो बन्दैगएको छ । 
एमडी वा एमएस गर्नु भनेको काम गर्दै थप अनुभव हासिल गर्नु हो । यसको अर्थ एमडी वा एमएस गर्ने विद्यार्थीले प्रत्यक्षरूपमा मेडिकल कलेज वा अस्पताललाई आफ्नो श्रममार्फत आयआर्जन गर्न सहयोग गरेका हुन्छन् । जसले आफ्नो परिश्रमबाट अस्पताल र मेडिकल कलेजलाई फाइदामा पु¥याउँछ, उनैबाट कलेजले उल्टै चर्काे शुल्क असुली गर्छ । साँच्चै भन्ने हो भने एमडी वा एमएस पढाई पूर्णरूपमा निःशुल्क हुनुपर्छ । काम पनि गर्ने पैसा पनि तिर्ने ? यो नमिल्ने कुरा हो । हो, अहिले यो सम्भव नहोला तर राज्यले बलियो स्वास्थ्य नीति बनाएर मेडिकल कलेजहरूलाई आवश्यक अनुदान दिने हो भने यो सम्भव छ । त्यसरी अनुदानबाट स्नातकोत्तर गरेका चिकित्सकलाई बाध्यकारीरूपमा निश्चित समय सरकारी अस्पतालमा काम लगाउन सकिन्छ ।

यस्ता धेरै पक्ष छन् जसलाई सिंगो चिकित्सक जगतले बहसको विषय बनाउनु जरुरी छ । दुर्भाग्यवश राजनीतिले चिकित्सक समाजलाई नराम्रोसँग गलाएको छ । पहिल्लो समय केही सुधार देखिए पनि ढुक्क हुने अवस्था छैन । राजनीतिक पार्टीका भातृ संगठनमा आबद्ध हुनु आफ्नो नितान्त व्यक्तिगत अधिकार होला । त्यसलाई अन्यथा ठान्न मिल्दैन । तर, जब चिकित्सक समाज एकजुट हुनुपर्ने बेला पक्षविपक्षमा बाँडिन पुग्छ यसले चिकित्सा क्षेत्रलाई सही दिशानिर्देश गर्न सक्दैन । नेपाल मेडिकल एसोसियसन थप सशक्त हुनु आवश्यक छ । नेपाली राजनीतिको बाटोभन्दा आफ्नै अलग चिकित्सकीय गोरेटो बनाउन हामी सबै एक जुट हुनुपर्छ । राजनितीको प्रभावमा हाम्रो स्वर दबिनु हुँदैन । 

भानुभक्तको नारीसम्बन्धी दृष्टिकोण ||

शर्वराज आचार्य  आदिकवि भानुभक्त आचार्यको नारीसम्बन्धी दृष्टिकोण खुबै आलोचित छ । कतिपय नारी र पुरुष लेखकले भानुभक्तको नारीसम्बन्धी दृष्टिकोणमाथि

सुधार होला नेपाल– भारत सम्बन्ध ?

ऋषिराम अधिकारी र्खा रेजिमेन्टमा ४०,००० भन्दा धेरै नेपाली भारतको रक्षाको निम्ति तैनाथ छन् तर दुई छिमेकी मुलुकबीच हुनुपर्ने हार्दिकतापूर्ण