ad

कांग्रेसका ८ युवा नेता गगन, धनराज, चन्द्रभण्डारी लगायतले लेखे जिल्ला सभापतिहरूलार्इ खुल्ला पत्र


काठमाडाैँ । नेपाली कांग्रेसका युवा नेताहरूले जिल्ला सभापतिहरूलार्इ खुल्ला पत्र लेख्दै पार्टी सुदृढीकरणमा लाग्न अाग्रह गरेका छन् । कम्युिनिष्ट सरकारबाट लाेकतन्त्र खतरामा परेकाे भन्दै नेताहरू चन्द्र भण्डारी, धनराज गुरुङ, गगनकुमार थापा, जीवन परियार, गुरूराज घिमिरे, प्रदिप पौडेल, रामकृष्ण यादव र किरण यादवले रक्षा कवज बनेर लाेकतन्त्र बचाउन कांग्रेस लाग्नुपर्ने बताएका हुन् । मंगलबारबाट हेटाैडामा शुरू भएकाे कांग्रेस जिल्ला सभापतिहरूलार्इ सम्बाेधन गर्दै लेखिएकाे पत्रमा भनिएकाेे छ, ”आजका दिनमा लोकतन्त्र र संविधानमा लिपिबद्ध उपलब्धिहरू कार्यन्वयन गर्ने क्रममा जे जस्ता चुनौंती देखिएका छन त्यसको सामना गर्ने कांग्रेसले नै हो । आज लोकतन्त्रमाथि कसैवाट खतरा छ त त्यो निर्वाचित कम्युनिष्ट सरकारवाटै छ । राष्ट्रिय राजनीतिमा कम्युनिष्ट सरकारले देखाएको संविधान र लोकतन्त्र विरोधी रवैयाको सशक्त मुकाविला र खवरदारी लोकतन्त्र, संघीयताको सफल कार्यन्वयनको लागि कांग्रेस रक्षाकवच बन्नुपर्नेछ ।”

उनीहरूले नयाँ रणानीति बनाएर अगाडी बढ्न समेत जिल्ला सभापतिहरूलार्इ सुझाब दिएका छन् ।

यस्ताे छ कांग्रेसका ८ युवा नेताले जिल्ला सभापतिहरूलार्इ लेखेकाे खुल्ला पत्र पूर्णपाठ 

श्री…………………………………..
सभापति, नेपाली कांग्रेस ………………………जिल्ला कार्य समिति ।
प्रिय साथी,
सर्वप्रथम, नयाँ सन्दर्भ र परिस्थितिमा हुन लागेको जिल्ला सभापतिहरूको भेलाको सफलताको कामना गर्दछौं । हाम्रो पार्टीको हालसम्मको सांगठनिक संरचनामा जिल्ला समिति अत्यन्त महत्वपूर्ण तह हो । स्थानीय पार्टी संगठनको जिम्मेवारी सम्मालिरहेको जिल्ला सभापतिहरू नै पार्टी र जनताको वास्तविकताको सवैभन्दा नजिक र बढी जानकारी भएको व्यक्तिहरू हो । अर्थात जनतासंग जोडिने र जनताको भावनाको प्रतिनिधित्व गर्ने अनि जनता-कार्यकर्ताको भावनालाई केन्द्रसम्म पुर्याटउने एउटा प्रमुख आधार नै तपाईहरू हो । यस अर्थमा वदलिदो परिवेशमा स्थानीय तहमा देखिएका समस्या र अवसर, पार्टी संगठनले भोग्नुपरेका विषयहरूलाई सही ढङ्गले उजागर गर्न र पार्टीको जीवनको वारेमा वस्तुनिष्ठ छलफल गर्न तथा अलमलिएको कांग्रेसलाई दिशानिर्देश गर्न तपाईहरूको यो भेला सफल र ऐतिहासिक हुनेछ भन्ने विश्वास लिएका छौं ।
नेपाली काँग्रेसको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माणसँगै कांग्रेसकै नेतृत्वमा सबै तहको निर्वाचन सम्पन्न भएर नेपाल लोकतान्त्रिक राजनीतिको सर्वस्वीकृत मार्गमा पुगेको छ । जुन मार्ग हाम्रा दूरदर्शी अग्रजहरूले पार्टीको स्थापनाकाल मै देखाएका थिए । यससंगै नेपाली राजनीतिमा सात दशकदेखि चल्दै आएको लोकतन्त्र वा लोकतन्त्रको विकल्प भन्ने बहसले एउटा सफल अवतरण पाएको छ । सवैलाई समन्वय गर्दै सात दशक यता भएका लोकतान्त्रिक आन्दोलनका उपलब्धिहरू, लोकतन्त्र, गणतन्त्र, समावेशीता, संघीयता लगायतका विषयलाई संस्थागत गरेको छ । निश्चय नै यो कांग्रेसको राजनीतिक विजय हो । तर यतिवेला हाम्रा अगाडि गम्भीर प्रश्न उठेको छ- नेपाली कांग्रेसले उठाएको विचार र राजनीतिक सोच राष्ट्रिय राजनीतिमा झन्डै सर्वमान्य भएर स्थापित हुँदै गर्दा पार्टी स्वयंले भने चुनाव किन जित्न सकेन? इतिहासका अनेकन मोडहरूमा थुप्रै पटक हार-जित, संकट-सहजता, सत्ता-सडक, हिंसा-निरंकुशताका अनेकौं आरोह अवरोह भोगेका कांग्रेसजनमा यो पराजयसंगै उत्साह हराएको छ किन? के यसपटक कांग्रेस प्राविधिक रुपमा मात्रै हारेको थियो वा रणनीतिक र राजनीतिक रुपमा पनि? यो हार प्राविधिक मात्रै थिएन । राजनीतिक विचार र सिद्धान्तले विजय प्राप्त गर्दैगर्दा हामीले राजनीतिक युद्ध त जित्यौं तर चुनावी लडाईं भने हार्यौं। । निश्चय पनि चुनाव हार्दैगर्दा एउटा मोर्चा हारेका हौं राजनीति हारेका होइनौं तर यो सानो पराजय भने होइन र यो हारको कारण एउटा मात्र पनि छैन ।

प्रिय साथी,
निर्वाचन पश्चात बसेको केन्द्रीय कार्य समितिको समिक्षा बैठकमा हामी केही केन्द्रीय सदस्यले निर्वाचनको विस्तृत समीक्षा गर्दै पार्टी पुनर्निर्माणका सन्दर्भमा प्रस्ताव सहितको ५१ पृष्ठ लामो प्रतिवेदन बहसका लागि पेश गरेको यहाँहरूलाई विदित नै छ । उक्त दस्तावेजमा हामीले निर्वाचन पराजयको कारणको विश्लेषण, कम्युनिष्टको मतदर वृद्धिको कारण, विगतमा हामी कहाँ चुक्यौं र पार्टीले अव तात्कालिक र दिर्घकालिन रुपमा लिनुपर्ने वाटोको सन्दर्भमा उल्लेख गरेका छौं । कांग्रेस कसरी यो अवस्थामा आइपुग्यो भन्ने थाहा पाउन कम्तिमा पनि प्रजातन्त्र पुनर्स्थापना पछिको हाम्रो राजनीतिक प्रस्थानविन्दु २०४८ देखि अहिलेसम्म काँग्रेस कहाँ चुक्यो त्यसको व्यापक ढङ्गले समीक्षा र लेखाजोखा गर्नु आवश्यक छ भन्ने हाम्रो धारणा थियो । यससंगै नेपालको बदलिंदो समाज र राजनीतिक परिवेश अनुरुप पार्टीको सैद्धान्तिक व्याख्या तथा सांगठनिक संरचनाका साथै संविधान र संघीयता कार्यन्वयनको नेतृत्त्व, कानून निर्माणमा अग्रसरता, संविधानका असन्तुष्टिको संवोधन, उदार लोकतन्त्रको संरक्षण, विविधताको व्यवस्थापन, अतिवादको निराकरण र द्वन्द्वको न्यूनिकरण तथा छिमेकीसंगको सम्बन्धजस्ता राष्ट्रिय मुद्दाहरुको सन्दर्भमा पनि कांग्रेसले स्पष्ट दृष्टिकोण लिएर अघि बढ्नु आवश्यक छ भनेर हामीले उक्त प्रतिवेदनमा विस्तृत चर्चा गरेका छौं।

प्रिय साथी,
संविधान कार्यन्वयनसंगै नेपाली राजनीति नयाँ चरणमा प्रवेश गरेको छ । निर्वाचन परिणामले प्राविधिक रुपमा हामी प्रतिपक्ष नै हौं तर संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्न र संविधान कार्यन्वयन गर्न राजनीतिक रुपमा हामी मुलकर्ता हौं । चुनाव हार्यौं भनेर आफ्नो जिम्मेवारीबाट विमुख हुने सुविधा हामीलाई छैन । आजका दिनमा लोकतन्त्र र संविधानमा लिपिबद्ध उपलब्धिहरू कार्यन्वयन गर्ने क्रममा जे जस्ता चुनौंती देखिएका छन त्यसको सामना गर्ने कांग्रेसले नै हो । आज लोकतन्त्रमाथि कसैवाट खतरा छ त त्यो निर्वाचित कम्युनिष्ट सरकारवाटै छ । राष्ट्रिय राजनीतिमा कम्युनिष्ट सरकारले देखाएको संविधान र लोकतन्त्र विरोधी रवैयाको सशक्त मुकाविला र खवरदारी लोकतन्त्र, संघीयताको सफल कार्यन्वयनको लागि कांग्रेस रक्षाकवच बन्नुपर्नेछ ।

अर्कोतर्फ, संघीय संसद, ७ वटै प्रदेश संसद र अधिकांश स्थानीय तहमा हामी मुख्य प्रतिपक्षमा छौं भने सयौं स्थानीय तहमा सरकारको नेतृत्वमा छौं । यी सबैमा हाम्रो महत्वपूर्ण दायित्व छ । केन्द्र र सवै प्रदेशमा प्रभावकारी र रचनात्मक रुपमा प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्नेछ । आफूले नेतृत्व गरेका स्थानीय तहमा प्रभावकारी रुपमा काम गर्नुपर्नेछ । पार्टीलाई संविधानले मार्गनिर्देश गरे अनुरुप तत्काल संघीय प्रणालीमा पार्टीको पुनर्संरचना गर्नुपर्नेछ । पार्टीलाई फेरी एकपटक राजनैतिक आन्दोलनका साथै सामाजिक आन्दोलनमा रुपान्तरित गर्नुपर्नेछ । दलित समुदाय, महिला, आदिवासी जनजाति, थारु, मधेसी, अपाङ्गता भएका व्यक्ति, हिमाल, पहाड,तराई सवै क्षेत्र, वर्ग र समुयदायले पार्टीमा अपनत्व महसुश गर्न पाउने अवस्था सृर्जना गर्नुपर्नेर्छ । सामाजिक विभेद विरुद्ध होस वा छुवाछुत विरुद्ध वा महिला हिंसा विरुद्ध कांग्रेसले फेरि एकपटक समाज रुपान्तरणको नेतृत्व गर्नुपर्नेछ । अनि कांग्रेसलाई नयाँपुस्ताको आकर्षणको केन्द्र बनाउनुपर्नेछ ।

अब प्रश्न उठ्छ अहिलेकै शैली, नेतृत्व र वैचारिक अलमलवाट सशक्त प्रतिपक्षीय भूमिका सम्भव छ ? छैन । अब कांग्रेसको नयाँ मिसन तय गर्दै नयाँ युगको लागि नयाँ एजेण्डालाई बोकेर हिड्नसक्ने संगठनको खाका कोर्न जरुरी छ अनि त्यो एजेण्डा बोक्ने नेतृत्व पनि । अनेक अभाव र कष्टका बावजूद मुलुक र पार्टीप्रति लोभलाग्दो निष्ठा र समर्पण भएका लाखौं कांग्रेसजनहरू आज पनि देशको कुना कन्दरमा रहेका छन । त्यहि निष्ठा र समर्पणको जगमा हामीलाई जनतासँग जोडिएको र जनताले विश्वास गरेको यस्तो कांग्रेस चाहिएको छ जहाँ सत्तरी वर्षको स्वर्णिम इतिहासमाथि गर्व गर्दै प्रष्ट ध्येय, सिद्धान्त र कार्यक्रम सहित बलियो र प्रभावकारी संगठन, समयको गतिलाई बुझेर त्यो संगठन हाँक्नसक्ने नयाँ नेतृत्व होस । त्यसले मात्रै अहिलेको कम्युनिष्टहरूसंग लड्न र हिजोको भन्दा पनि बलियो र जनमूखी आधुनिक संगठनको रुपमा कांग्रेसलाई डोर्यातउन सक्छ । यसका लागि कांग्रेस स्वयं रुपान्तरित हुनैपर्छ । यी सबको जग हाल्ने कामका लागि महासमिति बैठक सबैभन्दा उपयुक्त स्थान हो । महासमितिमार्फत पार्टीको संघीय विधान पारित गरि शीघ्र महाधिवेशनको प्रकृया थाल्नु नै आजको आवश्यकता हो । सभापतिहरूको यस भेलामा निर्वाचन समिक्षा त हुनेनै छ पार्टीको आगामी कार्यदिशातर्फ यी विषयमा पनि ठोस र वस्तुनिष्ठ छलफक हुने नै छ भन्ने हाम्रो विश्वास रहेको छ।

प्रिय साथी,
पार्टी पुनर्निर्माणको छलफल गर्दैगर्दा एउटा महत्वपूर्ण विषय कांग्रेसको अबको वैचारिक बाटोका सन्दर्भमा हो । कांग्रेसको शैद्दान्तिक र वैचारिक पुनर्व्याख्या आवश्यक छ । महासमितिमार्फत नयां परिवेशमा राष्ट्रियता, लोकतन्त्र, समाजवादका सन्दर्भमा सामयीक व्याख्या, हाम्रो आर्थिक सामाजिक नीति, छिमेकसंगको हाम्रो सम्बन्ध लगायतका विविध विषयमा शैद्दान्तिक र वैचारिक दस्तावेज पारित गर्नुपर्छ । त्यसका लागि यो भेलाले ठोस वाटो देखाउनेछ भन्ने अपेक्षा लिएका छौं।

दोस्रो महत्वपूर्ण विषय सांगठनिक संरचनाको हो । देशमा संघीयता कार्यन्वयन भइ स्थानीय,प्रदेश र संघ गरि तिन तहको सरकारहरू गठन भइसकेका छन । वडातहसम्म संरचना बनेर काम शुरु भइसकेको अवस्था छ । तर हाम्रो पार्टीको संरचना भने पुरानै अबस्थामा छ । १६५ निर्वाचन क्षेत्र ३३० प्रादेशिक क्षेत्र, ७५३ स्थानीय तह र ६ हजार भन्दा बढि वडा संरचना बनिसकेको अवस्थामा पार्टीलाई तत्काल संघीय संरचनामा लगेर वडा, पालिका, प्रदेश र संघ सबै तहमा सबल सरकार वा छायाँ सरकारको भूमिका खेल्न सक्ने नेतृत्व स्थापित गर्नु आवश्यक छ । यो संघीयता र संविधान कार्यन्वयन गर्ने प्राथमिक जिम्मेवारीमा रहेको कांग्रेस आफ्नै संरचना संघीय मोडेलमा नलगिकनै कसरी त्यसको नेतृत्व गर्नसक्ला? अर्कोतर्फ हामीले समयमै संघीय संरचनामा पार्टीलाई लगेनौं भने सरकारका सवै तहमा सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका कसरी निर्वाह गर्न सकिएला? अबको ४ वर्षपछि हुने निर्वाचनमा हामी बहुमत प्राप्त पार्टी हुनका लागि यही संरचना र संगठनको शैलीले संभव होला? कदाचित हुंदैन । किनकी पुरानै संरचना अनुसार नियमित समयमै महाधिवेशन गर्ने गरि बस्ने हो भने अहिलेको विधान अनुसार ७ प्रादेशिक समिति बाहेक हामीले केहि पनि बनाउन सक्दैनौ । महासमितिमार्फत नयाँ संरचनामा गएनौं भने महाधिवेशन पछि शुरु गर्दा अर्को स्थानीय निर्वाचनसम्म पनि हामीले संघीय संरचना अनुसार गतिविधि गर्न सक्दैनौं । यसले पार्टीलाई नवजीवन दिन सक्दैन थप क्षति मात्र हुन्छ ।

त्यसैले महासमितिवाट पार्टीको सांगठनिक संरचना परिवर्तन गरौं, नेतृत्व चयन प्रकृया र सदस्यता प्रणालीका बारेमा स्पष्ट व्यवस्था गरौं । अविलम्ब महाधिवेशनको प्रकृया अगाडि बढाऔं । हाम्रो विधान अनुसार नियमित रुपमा पनि अर्को साल फागुनमा पार्टीको १४औं महाधिवेशन गर्नुपर्छ । केन्द्रीय महाधिवेशन नियमित समयमै गर्नेहो भने पनि त्यस अगाडि गर्नुपर्ने वडा, गाउंपालिका\नगरपालिका, क्षेत्र, प्रदेशको अधिवेशन गर्न झण्डै १ वर्ष लाग्छ । यी तहको अधिवेशनको लागि केन्द्रीय महाधिवेशन नकुरौं । महासमितिवाट संघीय विधान पारित गरि स्थानीय र प्रादेशिक तहको अधिवेशन प्रकृया अविलम्ब शुरु गरौं । कम्तिमा यही २०७५ सम्ममा स्थानीय र प्रादेशिक तहको अधिवेशन सम्पन्न गरौं र २०७६ मा केन्द्रीय महाधिवेशन गरौं । यसले हाम्रो संगठनलाई सवै स्थानीय तहमा जीवन्त बनाउने छ, सशक्त प्रतिपक्षको भुमिका हुनेछ । आगामी स्थानीय निर्वाचन हुदैगर्दा हामी सम्पूर्ण तयारी अबस्थामा हुनेछौं । हरेक स्थानीय संघीय र प्रादेशकि निर्वाचन हुनु २ बर्ष अगाडी नै हाम्रो पार्टी अधिवेशनहरू सम्पन्न भइसक्ने परिपाटी निरन्तर रहनेछ । हामीलाई विश्वास छ सभापतिज्यूहरूको यस बैठकले यी विषयहरूमा छलफल गरि महासमितिबाट नयां सांगठनिक संरचना सहितको विधान पारित गर्नेकुरामा ठोस मार्गनिर्देश गर्नेछ ।

तेस्रो विषय नेतृत्वको हो । पार्टीको शैद्धान्तिक र सांगठनिक विषयसंगै नेतृत्वको वारेमा स्वभाविक प्रश्न उठ्छ नै । नेतृत्वको सन्दर्भमा तपाई-हामी सवैका आ-आफ्ना धारणा छन । छलफल आवश्यक छ, निरन्तर बहस गर्नेनै छौं । हामी कस्तो नेतृत्व छनोट गर्ने भन्ने अन्तिम निर्णय महाधिवेशनले नै गर्नेछ ।

अन्त्यमा,
आज प्राप्त संवैधानिक परिवर्तन, राजनीतिक सामाजिक चेतना र नवीन परिवेशमा नेपाली कांग्रेसले फेरी एउटा नयाँ यात्रा थाल्नुपरेको छ। नविनतमा उर्जा लिएर समुन्नत नेपालको गन्त्व्यको यात्रा तय गर्नुपर्ने समयमा हामीलाई अलमलिने सुविधा छैन । विपि कोइरालाले भनेजस्तै-‘हामी सवैको सामुहिक आशा नेपालको उज्जवल भविष्य हो । नियतिले हामीलाई निर्माण, उत्थान र गौरवको मार्गमा अग्रसर हुन आव्ह्वान गरिरहेको छ। के आजको ऐतिहांसिक क्षणमा हामी आफ्ना स्वार्थ, संकीणता तथा दुर्वलता त्यागेर नियतीको बाणीलाई सुन्न सक्दैनौं?’ जिल्ला सभापतिहरूको यस भेलामा सघन र सार्थक छलफल हुन सकोस भन्ने ध्ययले यस पत्रमार्फत पार्टीको गत केन्द्रीय समितिको बैठका हामीले राखेको सामुहिक धारणालाई यहाँहरू समक्ष प्रस्तुत गरेका छौं ।

राजनीति जितेर चुनाव हारेका छौं,अव राजनीति जितेकै हो भनेर पनि नबसौं चुनाव हारेको भनेर निराश पनि नबनौं । यो महान पार्टीसंग यस्तो इतिहास छ अनि यस्तो विचारको श्रेष्ठता छ जो अरु कोहीसंग छैन । त्यो इतिहासलाई सम्मान गर्दै, त्यही वैचारिक जगमा टेकेर भविष्य कोर्ने अभिभारा तपाई हाम्रो हो । हाम्रो गौरवमय चारतारे झण्डालाई आउंदो पुस्ताले गौरवका साथ उठाउन पाउनुपर्ने अवस्थाको सिर्जना गर्ने चुनौती इतिहासले हामीलाई दिएको छ । कांग्रेसको सवैभन्दा ठूलो पूंजीको रुपमा देशैभरि पार्टीका इमान्दार र प्रतिबद्ध साथीहरु छन जो हिजो निरङ्कुशता र हिंसाको लुकामारीका वीचमा पल पलमा अनेकन संकट भोग्दा पनि सवै कुरा गुमाउन तयार भए तर स्वतन्त्रता र स्वाभिमानको आन्दोलनलाई कहिलै झुक्न दिएनन । बिना कुनै स्वार्थ केवल पार्टी र समाजको लागि क्रियाशील त्यो पंङ्ति आज पनि पार्टीले ठिक काम र ठिक दिशानिर्देश गर्ने हो भने जस्तोसुकै कुर्वान गर्न पनि तयार छन् । सभापतिहरूको यस भेलाले त्यसतर्फ रक्तसंचार गर्न सकोस् । अलमलिएको पार्टीलाई दिशा निर्देश गर्न, पार्टीको सैद्धान्तिक र सांगठनिक खाका कोर्न तत्काल महासमितिहुँदै महाधिवेशनको प्रकृया अगाडि वढाउन जिल्ला सभापतिहरूको यस भेलाले महत्वपूर्ण बाटो देखाउन सकोस । भेलाको सफलताको हार्दिक शुभकामना!

जय नेपाल!

तपाईंका साथी,
चन्द्र भण्डारी
धनराज गुरुङ
गगनकुमार थापा
जीवन परियार
गुरूराज घिमिरे
प्रदिप पौडेल
रामकृष्ण यादव
किरण यादव

गर्मी बढ्दै, तराईका धेरै ठाउँको तापक्रम ३० डिग्रीभन्दा माथि

काठमाण्डौ – केही दिनदेखि गर्मी बढिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रिमनसुन शुरु भएसँगै तापक्रम बढ्ने गर्छ । मार्चको पहिलो हप्ता

भोजपुरमा आगलागीमा परी तीन बालबालिकाको ज्यान गयो

काठमाण्डौ – भोजपुरको हतुवागडी गाउँपालिका–७ मा भएको आगलागीमा एकै परिवारका तीन जना बालबालिकाको ज्यान गएको छ । आगलागीमा परेर पाँच वर्षका प्रनिष

डिजेल, पेट्रोल र मट्टीतेलको भाउ घट्यो

काठमाण्डौ – नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको भाउ घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा

पहाडी भेगमा आंशिक बदली, अरु ठाउँको मौसम सफा

काठमाण्डौ– आज देशका पहाडी भेगमा आंशिक बदलीको सम्भावना रहेको छ । अरु बाँकी ठाउँको मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै देशका

ad