चलचित्रका विषयवस्तु र भ्रम ||

नरेश फुयाँल

नेपाली चलचित्र उद्योगलाई लामो समयसम्म एउटै आरोप लाग्यो,हिन्दी सिनेमाको कपी गरेको । दर्शकले हेर्दा पनि त्यस्तो देखिन्थ्यो । बक्स अफिसमा सफल भएका दर्जनौं चलचित्रको कथा लेखेका अहिलेका एक चलचित्र निर्देशक तथा निर्माता भन्छन्, “मलाई चार वटा हिन्दी सिनेमाको सीडी थमाएर यिनीहरुबाट राम्रो–राम्रो कुरा निकालेर कथा लेख्नुस् भनेर निर्माताले भन्थे । मिडियामा अहिले नाम नभनौं । त्यही वेथिती स्वीकार्न नसकेर म अरुका चलचित्रमा कथा लेख्न छोडेर आफैं फिल्म बनाउन थालेको हुँ ।”

यो श्रृंखलाको पूर्ण अन्त्य त भइसकेको छैन, तर क्रमभङ्ग भने भएको छ । महलका मालिकको अराजक छोरो वा अराजक छोरीले झुपडीको गरिब केटी वा केटोसँग हुने  बेमेल प्रेमको कथा नेपाली चलचित्रले लामै समय पस्किए । त्यसको अन्त्य पनि अहिले भइसकेको छैन । यद्यपियो पातलिने क्रम भने बाक्लिएको छ । 

अहिले नेपाली चलचित्रले भुइँ मान्छेको कथा भन्न थालेका छन् । पहिले भुइँमान्छे कथासँग जाडिएर आउँथ्यो । कथासँग लहरिएर आउने त्यो भुइँमान्छेलाई नकारात्मक रुपमा चित्रित गरिन्थ्यो । अहिले समयसँगै नेपाली चलचित्रको कथा फेरियो । कथा भन्ने शैली फेरियो । चलचित्रमा नायक हुन छाड्यो । चरित्र अभिनेताले नै चलचित्र बन्न थाल्यो । फाटेको कालो झुत्रे कट्टु लगाएर नाकभरि सिँगान बगाएर हिँड्ने व्यक्ति पनि चरित्र अभिनेता (हिरो) हुन थाल्यो,जसले नायकलाई रिप्लेस गरे । अथवा भुइँमान्छेको कथा चलचित्रमा बिक्न थाल्यो । नवीन सुब्बाको ‘नुमाफुङ’, निश्चल बस्नेतको ‘लुट’, दीपेन्द्र के खनालको ‘चपलीहाइट’, रामबाबु गुरुङको ‘कबड्डी’ ले यसको जग बसाए । दीपेन्द्रकै ‘पशुपतीप्रसाद’ सम्म आइपुग्दा भुइँमान्छेको कथा नै नेपाली चलचित्रको विकाउ विषय बन्यो । 

मीन भामको ‘कालो पोथी’, दीपक रौनियारको ‘सेतो सूर्य’ सम्म आइपुग्दा भुइँमान्छेको कथाले नेपालमा मात्रै होइन,विदेशमा पनि बाजी मार्यो । अन्तर्राष्ट्रिय प्रतिष्ठित अवार्डहरु हात पारे यी चलचित्रले । त्यसपछि नेपाली चलचित्रले मौलिक विषयको महत्व बुझ्यो । अहिले पनि यो क्रम यथावत छ । दीपेन्द्रले नै भुइँमान्छेकै कथा बोकेर ‘धनपति’ बनाए । मेडिकल सर्जनको दैनिकीलाई केन्द्रीय कथा बनाइएको ‘भुइँमान्छे’ पनि रिलिजको पूर्वसन्ध्यामा छ । 

समयक्रमसँगै दर्शकको रुची परिवर्तन हुँदैगयो । दर्शकको रुचीसँगै चलचित्रको विषय पनि फेरिए ।  जसले समयको वहावलाई रोक्न खोज्यो, ऊ आलोचनाको सिकार भयो । इतिहासमै सर्वाधिक व्यापार गरेको चलचित्र ‘छक्का पञ्जा’ ले महिलाको चरित्रमाथि प्रश्न उठाएको भन्दै आलोचना भयो । नकारात्मक सन्देश प्रवाह गर्नेगरी महिला चरित्रलाई चलचित्रमा प्रस्तुत गरिएकोभन्दै सामाजिक सञ्जालदेखि समाचार तथा लेखमा टिप्पणी भयो । 

अहिले चलचित्रमा यौनिकताको प्रश्न उठ्न थालेको छ । यौनिक अल्पसंख्यकलाई चलचित्रमा नकारात्मक रुपमा चित्रण गरेर उनीहरुको आत्मसम्मानमा ठेस पुर्याउने काम चलचित्रले गरिरहेको भन्ने कुरा उठ्न थालेको छ । तर, यो आवाज अहिले त्यति मजबुत भने भइसकेको छैन । यौनिक अल्पसंख्यक (समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगी, दुईलिंगी) लाई चलचित्रले नकारात्मक रुपमा चित्रण गर्दा समाजमा उनीहरु खराब हुन् भन्ने सन्देश जाने भन्ने आवाज उठ्न थालेको छ । हाँसोको पात्रका रुपमा मात्रै समलिंगी, तेस्रोलिंगी र दुईलिंगीलाई उभ्याइँदा उनीहरुको आत्मसम्मानमा नै चोट पुग्ने निर्देशक दीपेन्द्र के खनाल बताउँछन् । 

“आ–आआफ्नो इच्छा र चाहनाअनुसार बाँच्न सबैले पाउँछ । अरुको अधिकार र आत्मसम्मानमा हस्तक्षेप गर्ने अधिकार हामी कसैलाई पनि छैन,” निर्देशक खनाल भन्छन्, “आफूले गरेको कामले अरुलाई कस्तो प्रभाव पर्छ भन्ने मुख्य कुरा हो । मैले व्यक्तिगत रुपमा मेरो चलचित्रमा यस्तो चरित्र आएको छैन र यस्तो गर्दिन पनि ।”

कलाको सबैभन्दा सुन्दर र सशक्त माध्यम चलचित्र हो । यो चलचित्रकर्मीहरुका लागि गौरवको पक्ष हो । यस्तो सशक्त माध्यमलाई दुरुपयोग नगर्न यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारका क्षेत्रमा काम गर्दै आएको संस्था निलहीरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकाल बताउँछिन् । “चलचित्रले हामीलाई सधंै उपेक्षाको पात्र बनाएका कारण परिवारले यौनिक अल्पसंख्यकलाई हेर्ने दृष्टिकोण सकारात्मक हुन सकेन,” निर्देशक ढकाल भन्छिन्, “चलचित्रमा कस्ता दृश्य र संवाद सेन्सर गर्ने भन्ने जिम्मेवारी बोकेको सेन्सरबोर्डले यसमा ध्यान दिनुपर्छ ।”

दीपक रौनियारको चलचित्र ‘हाइवे’ मा अभिनय गरेकी तेस्रोलिंगी अधिकारकर्मी भूमिका श्रेष्ठ पनि नेपाली चलचित्रमा समलिंगी तथा तेस्रोलिंगीलाई देखाइने गरेको ट्रेन्ड सकारात्मक नभएकोमा गुनासो गर्छिन् । “अधिकारका हिसाबले सबै मानिस समान हुन् । कसैलाई हामीलाई मात्रै होइन चलचित्रले कसैलाई पनि नकारात्मक सन्देश जाने गरीप्रस्तुत गरिनु हुँदैन ।” यद्यपि नियतवश नभएर आर्टका रुपमा भने जुनसुकै रुपमा प्रस्तुत गर्न सकिने उनको भनाइ छ । 

यद्यपि अवस्था यौनिक तथा लैंगिक अल्पसंख्यकले भने जस्तो मात्रै पनि छैन । पछिल्लो समय समलिंगी तेस्रोलिंगीलाई नेपाली चलचित्रले पनि सकारात्मक रुपमा प्रस्तुत गर्न थालेका छन् । सुरुआतका वर्षमा नकारात्मक रुपमा चित्रित गरिए पनि पछिल्ला वर्षमा भने यौनिक तथा लैंगिक अल्पसंख्यकलाई सकारात्मक रुपमा प्रस्तुत गर्न थालिएको छ । 

मुख्य विषय बनाएर मुख्य पात्र नै तेस्रोलिंगी र समलिंगीलाई बनाउन थालिएको छ । ‘सकुन्तला’ ले तेस्रोलिंगीलाई मुख्य विषय मात्रै बनाएन, मुख्य पात्र नै तेस्रोलिंगीको भेषमा उतार्यो । राजेश हमाल तेस्रोलिंगी भएर चलचित्रको सुरुदेखि अन्त्यसम्म पर्दामा नायकी निभाउँछन् । तर, यो चलचित्रका लेखकले तेस्रोलिंगी चरित्रलाई सकारात्मक रुपमा देखाउन खाजे पनि उनी स्वयम् भने तेस्रोलिंगीबारे अलमलमा देखिए। उनले तेस्रोलिंगी भनेको के हो भन्ने नै थाहा पाएनन् । यो कुरा चलचित्र हेर्दा स्पष्ट हुन्छ । भिलेनले बाल्यकालमै लिंग छेदन गरिदिएपछि महिलाको भेषमा बदलिएको चरित्र सकुन्तला जस्ता व्यक्तिलाई तेस्रोलिंगी भनिदैन । तेस्रोलिंगी भएर पनि लिंग छेदन गरेका व्यक्तिलाई ‘हिजडा’ भनिन्छ । यो भारतीय कल्चर हो । तर सकुन्तलामा देखाए जस्तो विपरित लिंगी व्यक्तिले लिंग छेदन गर्दैमा तेस्रोलिंगी मात्रै होइन, हिजडा पनि हुँदैन । त्यस्तो व्यक्ति ‘अपांग’ हो । यद्यपि दिनेश श्रेष्ठले निर्देशन गरेको यो चलचित्रले यौनिक अल्पसंख्यकलाई सकारात्मक रुपमा प्रस्तुत गर्न खोजेको छ । चलचित्र ‘सकुन्तला’ युट्युबमा उपलब्ध छ । विषयवस्तुप्रति पर्याप्त ज्ञान नभई चलचित्र बनाइँदा त्यसले झन भ्रम फैल्याउने देखिन्छ । 

समलिंगीलाई न्यायोचित ढंगले प्रस्तुत गरेको पछिल्लो समय रिलिज भएको अर्को चलचित्र हो–‘आधा लभ’ । अर्पण थापाको लेखन तथा निर्देशनकोे‘आधा लभ’ मा समलिंगी सम्बन्धलाई देखाइएको छ । समलिंगी सम्बन्धमा रहन खोज्दा घरपरिवारले समलिंगीहरुलाई हेर्ने नकारात्मक दृष्टिकोणका कारण उनीहरु कसरी कुण्ठा पालेर बाँचिरहेका छन्, यसमा देखाइएको छ । रेमनदास श्रेष्ठ र विपिन मिक्की गुरुङले समलिंगी भएर अभिनय गरेको यो चलचित्रमा समलिंगी सम्बन्धलाई स्थापित गराउने प्रयास गरिएको छ । 
नेपाली चलचित्रमा समलिंगी तेस्रोलिंगीलाई ‘छक्का’ र ‘हिजडा’ शब्दले सम्बोधन गरेको पाइन्छ । ‘आधा लभ’ को ट्रेलरले यसलाई पुष्टि गर्छ । 

यौनिक अल्पसंख्यक देहव्यापार गरेर बस्छन् र यौन अराजकका पर्यायका रुपमा प्रयोग गरेको पाइन्छ । यौन पिपासुका रुपमा देखाइनु नै समलिंगी तेस्रोलिंगी वर्गविशेषका लागि असन्तुष्टिको विषय हो । चलचित्र ‘छड्के’ मा देखिने सेकेण्ड भरको रोलले पनि यसलाई अथ्र्याउँछ ।

लामो समय मुम्बई बसेर चलचित्रमा काम गरेका निर्देशक तुलसी घिमिरे मुम्बइमा रहँदा आफ्ना सबैभन्दा मिल्ने साथी समलिंगी तेस्रोलिंगी रहेको सम्झिन्छन् । “मुम्बई बस्दा एक जना साथीसँग दिनहुँ भेट हुन्थ्यो । ऊ सधैँ जोक मजाक गर्ने, रमाइलो गथ्र्यो । उसको त्यस्तो बानी देखेर मैले एक दिन उसलाई सोधें—तिमी किन यसरी सधैं मजाकमात्रै गर्छौ । उसले भन्यो– हामी त मजाक गर्नका लागि जन्मिएका हौं । हामी त मरेर घाट लैजाँदा पनि मान्छे हाँस्छन्,’ घिमिरेले सम्झिए ।

निर्देशक घिमिरेले भने, ‘ऊ हिजडा रहेछ । उसले यति मार्मिक कुरा गर्यो, उसले घाटमा लाश लैजाँदा पनि हिजडाको लाश भनेर मान्छे हाँस्छन् भनेर आफूले पहिचान नखुलाएको बतायो । त्यसदिन देखी उ मसँगै संधै गम्भीर कुरा गथ्र्यौं ।”

चलचित्र फगत दुई घण्टाको मनोरञ्जन मात्रै होइन । मनोरञ्जनसँगै सन्देश प्रवाह पनि गर्नु चलचित्रको धर्म हो । त्यसैले महिला तथा यौनिक अल्पसंख्यकका विषयलाई उठान गर्दा त्यसको प्रत्यक्ष परोक्ष असर के पर्छ भन्ने पनि सोच्नुपर्ने घिमिरे बताउँछन् ।सबैले रुचाउने कलाको सुन्दर यो विधालाई दुरुपयोग नगरी विष्यवस्तुको उठान गर्नु नै चलचित्र र विषयवस्तुको सम्मान हो भने यसप्रतिको विश्वसनीयता बढाउने अचुक उपाय हो ।

‘भूइँमान्छे’ टिमको विद्यार्थीसँग अन्तरक्रिया, सिपोराले के भनिन् ?

भदौ २ गतेबाट रिलिज हुने चलचित्र ‘भूइँमान्छे’ले आफ्नो प्रचारलाई विभिन्न तरिकाले अगाडि बढाइरहेको छ । काठमाण्डौस्थित हनुमानढोका दरबार र युथ कर्नर

सदिक्षाको ‘छोटो छोटो’ सार्वजनिक ||

गायिका तथा गीतकार सदिक्षा सेजुवालको ‘छोटो छोटो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रममा यो गीतको अडियो तथा

‘म यस्तो गीत गाउँछु’को आक्रामक व्यापार, फ्यानको विचमा पल र पूजा ||

लामो समयपछि दर्शकको भीड काठमाण्डौ लगायत देशभरका अधिकांश हलमा देखिएको छ । शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ हेर्नका लागि

नर्सिङ र गायनमा सँगसँगै रेणुका ||

काठमाडौं । सङ्गीत सुन्नु, गुनगुनाउनु र कविता लेख्नु, रेणुका बाल्यकालीन दैनिकी हुन् । बाल्यकालदेखि नै प्यासले नर्सिङजस्तो ब्यस्त पेशामा रहँदारहँदै