जेठ २५ गते तारा एअरको बिमान रेसुङ्गा बिमानस्थलमा उत्रने
गुल्मी २२ जेठ
निर्माणधिन गुल्मीको रेसुङ्गा बिमानस्थलमा विभिन्न समयमा विमानको परिक्षण उडान् हुने भन्ने खबरले हर्षित स्थानीयहरु तोकिएको मितिमा विमान परिक्षण नहुँदा निराश देखिएका थिए । निर्माण समितिले पुनः यहि जेठ २५ गते विमानको परिक्षण उडान् गर्ने भनेर जानकारी गराएको छ । यसभन्दा अगाडि गतवर्षको दशैको वरीपरी नै विमान् उडान हुने बताईएको थियो । निर्माण कम्पनीले समयमा काम नगरेको भन्दै पुन २०७५ बैशाखभित्रै परिक्षण उडान् गर्ने भनियो । त्यो पनि सारेर जेठको पहिलो हप्ताभित्र परिक्षण उडान् गर्ने कार्यतालिका बनाए पनि मौसममा आएको प्रतिकूलताको कारण भन्दै जेठ २५ गतेका लागि मिति तोकिएको छ ।
समितिका अध्यक्ष मधुकृष्ण पन्तका अनुसार जेठको २५गते मौसमा कुनै फेरबदलन नभएमा रेसुङ्गा विमानस्थलमा हवाईजहाज आउने बताए । जिल्लाको सदरमुकाम तम्घास नजिकै सिमीचौरमा एक दशक अगाडिबाट निर्माण शुरु भएको रेसुङ्गा विमानस्थलमा गत दशंैमा नै धुले उडान गर्ने भनिए पनि अहिले बल्ल धुले उडान गर्न सकिने अवस्थामा पुगेको पन्तले बताए । दशैंमा जहाज नआएर निराशा भएका स्थानीयमा पनि फेरि जहाज आउने कुराले धेरै उत्साहित बनाएको छ । स्थानीय दीपेश अर्यालले अब त घर नजिकै जहाज आउने कुराले खुसी बनाएको बताए ।
नियमित विमानस्थल सञ्चालन भए जिल्लाको समग्र आर्थिक विकासले फड्को मार्ने अपेक्षा उद्योगी व्यवसायीहरुले गरेका छन् । गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गा पाण्डेले जिल्लाबाटै जहाज उड्ने कुराले जिल्लाको आर्थिक विकास हुने अपेक्षा गरेको बताए । यसरी पटक–पटक समय परिवर्तन भईरहँदा स्थानीयहरुमा भने विस्वास हराउन थालेको छ । विमानस्थल निर्माण लागि हालसम्म झण्डै १२ करोड रुपैयाँ खर्च भईसकेको तथा ५ करोड थप काम गर्न बाँकी रहेको समेत समितिले जनाएको छ । ६ सय १० मिटर लम्बाइ भएको धावनमार्ग ३० मिटर चौडा रहेको छ । विमानस्थल प्रभावित क्षेत्रमा पर्ने सिमिचौरस्थित थालेमालेका केही घरपरिवारलाई अन्यत्रै सारी सकिएको छ । विमानस्थलको ७८ रोपनी १० आना क्षेत्रफलमध्ये ५६ रोपनी सार्वजनिक जग्गा छ । ४६ घरधुरीलाई मुआब्जा दिएर अन्य ठाउँमा सारिएको अध्यक्ष पन्तले बताए । यसअघि मुआब्जामा विवाद हुँदा निर्माण प्रभावित भएको उनको भनाइ छ