तेस्रो गुल्मी महोत्सवको रौनकता थपिँदै

२०७४ चैत्र १ गते
आगामी चैत्र १६ देखि २५ गतेसम्म सञ्चालन हुने तेस्रो गुल्मी महोत्सवको रौनक बढ्दै गएको छ । सोहि क्रममा महोत्सव प्रचार प्रसार उप समितीले आज धुर्कोट गाउँपालिका ५ वस्तुको विचित्र गुफा भित्रै बैठक बसेको छ । प्राकृतिक रुपमा अत्यन्तै सुन्दर भएपनि प्रचार प्रसारको कमीले गुफा ओझेलमा परेको भन्दै समितीले गुफाभित्रै वैठकको आयोजना गरेको प्रचार संयोजक श्रीप्रसाद भलामीले बताए ।
महोत्सव मुल आयोजक समिती र गुल्मी उद्योग वाणिञ्य संघका पदाधिकारी र धुर्कोट गाउँपालिका जनप्रतिनिधिहरुको टोली गुफा पुगेका थिए । टोलीले गुफाको विभिन्न अवस्थाको अवलोकन गर्नुका साथै आगामी विकास र समृद्धिका वारेमा छलफल गरेको महोत्सव मुल समिती सयोजक दुर्गा प्रसाद पाण्डेले बताए । टोलीले आगामी दिनमा बिचित्र गुफाको भौतिक संरचना विकासका साथै प्रचार प्रसारमा अग्रणी भुमिका निबार्ह गर्ने बचन दिएका छन् । सदरमुकाम तम्घासबाट गएको टोलीलाई स्वागत गर्दै धुर्कोट गाउँपालिका उपप्रमुख शिव बहादुर खत्रीले स्थानीय तहसंगै हातेमालो गरेर गुफाको विकासमा लाग्न सवैलाई आग्रह गरे ।
बिचित्र गुफा २०४५ सालमा ढेंडु लखेट्दै जाने क्रममा फेला परेको स्थानीय बताउँछन् । बिचमा धेरै समय गुफा अस्त व्यस्त नै रह्यो । पछिल्लो समेत स्थानीयले नै समिति बनाएर केहि रेखदेख र संरक्षण गरिरहेका छन् । तर त्यो अत्यन्तै न्यून छ । गुफाको विकासका लागि चासो र आश्वासन मात्र दिइरहँदा समितिलाई समेत समस्या भैरहेको छ ।
ताला लगाएको अवस्थामा पनि चोरी हुने गरेकाले गुफाको सुरक्षा र संरक्षणका लागि स्थानीयले मात्र चासो दिएर नहुने उनले बताए । स्थानीयकै पहलमा विचित्र गुफा संरक्षण तथा विकास समितिले आगन्तुकसँग लिएको शुल्क र अरु सहयोगबाट गुफाको रेखदेख गर्दै आएको छ । उचित संरक्षण र सुरक्षा नहुँदा गुफाभित्रका अनौठा आकृतिहरु चोरी भएको भण्डारीले बताए ।